काठमाडौं । सरकारले चालू आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखे तापनि नेपालको आर्थिक वृद्धिदर चालू आवमा ५ प्रतिशत मात्र हुने प्रक्षेपण विश्व बैंकका साथै अन्तर्राष्ट्रिय मुद्रा कोषले गरेको छ ।

भारत र चीनको आर्थिक वृद्धि हुँदा अमेरिकाको घट्ने

विश्वको आर्थिक वृद्धिदर ३ दशमलव १ प्रतिशतले सीमित रहने प्रक्षेपणबीच अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपालको आर्थिक वृद्धिदर विश्व बैंकले प्रक्षेपण गरेकै दरमा हुने दोहो-याएको हो ।

आईएमएफले ‘वल्र्ड इकोनोमिक आउटलुक’को रिपोर्टनुसार यस वर्ष विश्वको अर्थतन्त्र सामान्य रहने तर खतरा यथावत रहेको भन्दै मंगलबार रिपोर्ट सार्वजनिक गरेको छ । प्रतिवेदनअनुसार सन् २०२५ मा विश्वको आर्थिक वृद्धि ३ दशमलव २ प्रतिशत हुनेछ ।

आईएमएफले चालू आवमा अमेरिकाको आर्थिक वृद्धि २ दशमलव १ प्रतिशत रहने र सन् २०२५ मा घटेर १ दशमलव ७ प्रतिशतमा खुम्चिने प्रक्षेपण गरेको छ ।

ठूला अर्थतन्त्र भएका मुलुकहरू जर्मनी, फ्रान्स, बेलायतको १ दशमलव ६ प्रतिशत मात्र आर्थिक वृद्धि हुनेछ । सन् २०२५ मा सबैभन्दा बढी क्यानडाको २ दशमलव ३ प्रतिशत आर्थिक वृद्धि हुनेछ । क्यानडाको सन् २०२४ मा १ दशमलव ४ प्रतिशत आर्थिक वृद्धि हुनेछ । जापानको अवस्था भने कमजोर हुँदै जाने प्रक्षेपण गरिएको छ । जापानको आर्थिक वृद्धि सन् २०२४ मा शून्य दशमलव ९ र सन् २०२५ मा शून्य दशमलव ८ प्रतिशत हुनेछ ।

विश्वमा सबैभन्दा बढी आर्थिक वृद्धि हुने मुलुकका रूपमा भारतलाई लिइएको छ । भारतको सन् २०२४ र २०२५ मा लगातार साढे ६ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान अन्तर्राष्ट्रिय मुद्राकोषको रहेको छ ।

चीनको भने आर्थिक वृद्धि लगातार घट्दै जाने प्रक्षेपण गरिएको छ । चीनको सन् २०२३ मा ५ दशमलव २ प्रतिशत रहेकामा सन् २०२४ मा ४ दशमलव ६ हुँदै सन् २०२५ मा ४ दशमलव १ प्रतिशतमा सीमित हुनेछ । साउदी अरेबियाले सन् २०२४ मा २ दशमलव ७ प्रतिशत आर्थिक वृद्धि गरी सन् २०२५ मा साढे ५ प्रतिशत पु¥याउने प्रक्षेपण आईएमएफको रहेको छ ।

विश्वको अर्थतन्त्रको औसत वृद्धिदर २३ वर्षयताकै कम हुने पनि आईएमएफले जनाएको छ । यस्तै, आउँदो वर्ष अर्थात् सन् २०२५ मा पनि विश्वको वृद्धिदर ३ दशमलव २ प्रतिशत मात्रै हुने रिपोर्टमा उल्लेख छ ।

विश्व बैंक र आईएमएफले नेपालको आर्थिक वृद्धि ५ प्रतिशत रहने बताइरहँदा नेपालको आर्थिक वृद्धि भने हुन सकेको छैन । राष्ट्रिय तथ्यांक कार्यालयले गरेको अध्ययनअनुसार चालू आवको पहिलो चौमासमा ३ दशमलव २ प्रतिशत मात्र आर्थिक वृद्धि भएको छ । गत आवमा नेपालले ४ दशमलव ३ प्रतिशत आर्थिक वृद्धि हासिल गरेको थियो ।

नेपाल राष्ट्र बैंकले पनि गत महिना जारी गरेको प्रक्षेपणमा नेपालको आर्थिक वृद्धिदर ४ देखि ५ प्रतिशतको बीचमा हुने जनाएको थियो । आईएमएफका प्रमुख अर्थशास्त्री पीएरे ओलिभर गुरान्चासले विश्व अर्थतन्त्रमा मुद्रास्फीति निरन्तर घट्दै वृद्धितर्फ उन्मुख भएर ‘सफ्ट ल्यान्डिङ’तर्फ उन्मुख भएको जारी प्रतिवेदनमा उल्लेख गरेका छन् ।

चालू आवमा नेपालमा पर्यटक आगमन र विप्रेषण आप्रवाह उल्लेख्य रूपमा बढेको, ब्याजदर घटिरहेको र कर्जा प्रवाह बढ्न सुरु भएकाले ४ देखि ५ प्रतिशत आर्थिक वृद्धि हुने राष्ट्र बैंकको भनाइ छ ।

विश्व बैंकले जस्तै आईएमएफले चालू आवमा मूल्यवृद्धि ६ दशमलव ७ प्रतिशत हुनेछ ।

२०८० असोजको मूल्यवृद्धि ७ दशमलव ५ प्रतिशत रहेको छ, जुन २०७९ असोजभन्दा १ प्रतिशत बिन्दुले कम भएको राष्ट्र बैंकले जनाएको छ । मौद्रिक नीतिले ६ दशमलव ५ प्रतिशतको मुद्रास्फीति कायम राख्ने लक्ष्य लिएको छ । २०८० असोजमा खाद्य तथा पेयपदार्थको मूल्यवृद्धि ८ दशमलव ४ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि ६ दशमलव ८ प्रतिशत रहेको छ ।

सरकारले आगामी ५ वर्षभित्र अर्थतन्त्रको आकार ३२ खर्बले बढाउनेगरी लक्ष्य तय गरेको छ । राष्ट्रिय योजना आयोगले बनाइरहेको १६औं आवधिक योजनामा कुल गार्हस्थ उत्पादन (जीडीपी) झन्डै ८६ खर्ब (८० खर्बदेखि ८५ खर्ब ८० अर्ब) रुपैयाँसम्म पु¥याउने लक्ष्य तय गरिएको छ । आगामी आव २०८१–०८२ बाट १६औं आवधिक योजना कार्यान्वयनमा आउनेछ । आव २०७९–८० मा नेपालको अर्थतन्त्रको आकार ५३ खर्ब ८१ अर्ब रुपैयाँ रहेको छ ।

सरकारले आगामी ५ वर्षभित्र आर्थिक वृद्धिदरको लक्ष्यसमेत महŒवाकांक्षी राखेको छ । आव २०८५–०८६ सम्म वार्षिक ७ देखि ८ दशमलव ५ प्रतिशतसम्म आर्थिक वृद्धिदर पु¥याउने लक्ष्य १६औं योजनाले लिने भएको छ । नेपालमा विगत ३० वर्षमा औसत ४ दशमलव ३ प्रतिशत मात्र आर्थिक वृद्धि भएको छ । सरकारले १५औं आवधिक योजनाको अन्त्यसम्म वार्षिक ९दशमलव ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य लिएको थियो ।

अर्थमन्त्री प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र बिस्तारै लयमा आएकाले चालू आवमा ६ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य प्राप्त हुने परिवेश बनेको दाबी गर्दै आएका छन् ।

उनले बहुवर्षीय आयोजनामा स्रोतको सुनिश्चितताका आधारमा बजेटका विनियोजन प्रणाली विकास गरी बजेटका बेथितिमाथि नियन्त्रणका साथै बैंकको ब्याजदर घट्नु र बजार मूल्यवृद्धि ५ दशमलव ५ बाट नबढ्नुले पनि सकारात्मक संकेत मिलेको बताउँदै आएका छन् ।

उता, एसियाली विकास बैंक (एडीबी)ले नेपालको आर्थिक वृद्धिदर सन् २०२३ मा १ दशमलव ९ र सन् २०२४ मा ४ दशमलव ३ प्रतिशत रहने प्रक्षेपण सार्वजनिक गरिसकेको छ ।

एडीबीले ‘एसियन डेभलपमेन्ट आउटलुक, सेप्टेम्बर २०२३’ प्रतिवेदन सार्वजनिक गर्दै यस वर्षको तुलनामा आगामी वर्ष आर्थिक वृद्धिदरमा केही वृद्धि हुने अनुमान सार्वजनिक गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0