वैदेशिक रोजगारीबाट फर्किएका गल्याङ नगरपालिका–१ मालुङ्गाका ईश्वर बस्याल अहिले सफल व्यवसायी किसानका रूपमा चिनिन्छन् । उनले छ वर्षअघि ‘बिन्दवासिनी कृषि तथा पशुपालन फार्म’ दर्ता गरी व्यावसायिक रूपमा गाईपालन सुरु गरेका हुन् ।
सुरुवातमा ५० लाख रुपैयाँको लगानीमा केही संरचना निर्माण गरी २० वटा गाई–भैंसीसहित सुरु गरिएको व्यवसाय अहिले विस्तार हुँदै फार्ममा ४४ वटा गाईभैंसी पुगेका छन् । बस्यालका अनुसार अहिले सम्म कुल लगानी डेढ करोड रुपैयाँ नाघिसकेको छ ।
“भैँसी र होलिस्टिन गाई गरी २० वटाबाट सुरु गरेको व्यवसाय बर्सेनि विस्तार गर्दै आएको छु,” बस्यालले भने, “अहिले २७ वटा दुहुना छन्, बाँकी ब्याउने तयारीमा छन् ।”
उनी आफ्नै जग्गामा फार्म सञ्चालन गर्दै आएका छन् भने झण्डै १०० रोपनी जमिन भाडामा लिएर नेपियर, जै र वर्सिम जस्ता हरियो घाँस उत्पादन गरेका छन् ।
बस्यालको फार्मबाट दैनिक २५० देखि ३०० लिटर दूध उत्पादन हुन्छ । उनले दुध प्रतिलिटर ६५ देखि ७० रुपैयाँमा गल्याङस्थित साना किसान कृषि सहकारी संस्थामा बिक्री गर्दै आएका छन् । गल्याङ नगरपालिकाले प्रतिलिटर १५ रुपैयाँ थप अनुदान दिने व्यवस्था गरेकाले किसानलाई थप प्रोत्साहन पुगेको उनको भनाइ छ ।
“यहाँ उत्पादन भएको दूधको बजार समस्या छैन,” बस्यालले बताए, “सहकारीमार्फत सहजै बिक्री हुन्छ र अनुदानले मूल्य अझ आकर्षक बनेको छ ।”
फार्ममा हाल आठ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । बस्यालले फार्मलाई थप व्यवस्थित गर्दै गाईभैंसी संख्या बढाउने र आधुनिक संरचना विस्तार गर्ने योजना बनाएका छन् ।
विदेशमा काम गरेर फर्किएका बस्यालका लागि पशुपालन व्यवसाय नै स्थायी आम्दानीको स्रोत बनेको छ । “वैदेशिक रोजगारीबाट फर्किएर गाउँमै काम सुरु गरेँ,” उनले भने, “अनुभव र सिकाइले अहिले व्यवसाय राम्रो रूपमा अघि बढेको छ ।”
तर, फार्म सञ्चालनमा केही चुनौती पनि छन् । विद्युत् लाइन पुगे पनि पर्याप्त पावर नआएकाले मेसिनबाट दुहुने प्रणाली प्रयोग गर्न नसकिएको उनको गुनासो छ । “मेसिन ल्याएको छु, तर पावर नपुग्दा हातैले दुहिँदै आएको छु,” उनले बताए ।
