china 112025 03 16 07 20 54 ggg

चिनियाँ टोलीद्धारा चिया उद्योगको विकासमा सहयोग गर्ने प्रतिबद्धता 

कृषि विशेष गुणस्तर पर्यटन प्रदेश प्रदेश १ समाचार

नेपालस्थित चिनियाँ राजदूतावासका आर्थिक सल्लाहकार तथा अन्य प्रतिनिधिहरूले इलामको भ्रमण गर्दै चिया उद्योगको विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। टी एलायन्स अफ नेपाल र इलाम नगरपालिकाको समन्वयमा आइतबार आयोजित भ्रमणमा प्रतिनिधिमण्डलले इलामका ऐतिहासिक चिया बगान तथा उद्योग अवलोकन गरेका थिए। 

china22025 03 16 07 19 16 toli

कार्यक्रममा इलाम नगरपालिकाका प्रमुख केदार थापाले विशेष पाहुनाहरूलाई स्वागत गर्दै नेपाल–चीन सम्बन्धमा चियाले खेलेको भूमिकाबारे चर्चा गरे। नगरप्रमुख थापाले सम्बोधन गर्दै भने, ‘नेपाल र चीनको सम्बन्ध सांस्कृतिक, ऐतिहासिक र व्यापारिक रूपमा गहिरो छ। चिया हाम्रो साझा सम्पदा हो, जसले दुई राष्ट्रका जनतालाई भावनात्मक रूपमा जोडेको छ।’ उनले करिब १५० वर्षअघि नेपालमा चिया खेतीको सुरुवात चिनियाँ चिया बिउबाट भएको उल्लेख गर्दै, आज नेपाललाई चियाले अन्तर्राष्ट्रियस्तरमा चिनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताए।

टी एलायन्स अफ नेपालले चीन सरकारका उच्च पदस्थ अतिथिहरूलाई स्वागत गर्दै चियाको प्रवद्र्धनमा सहकार्य बढाउने प्रतिबद्धता व्यक्त गर्‍यो। संस्थाका प्रतिनिधिहरूले सन् २०२४ डिसेम्बरमा चीन सरकारको वाणिज्य मन्त्रालय र झाङझोउ कलेज अफ साइन्स एन्ड टेक्नोलोजीले आयोजना गरेको विशेष चिया तालिमको प्रभावबारे जानकारी गराए। सो तालिमले नेपाली चिया व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन मद्दत गरेको बताइयो। साथै, टी एलायन्स अफ नेपालले चिया परीक्षण (टी टेस्टिङ) कार्यक्रम पनि आयोजना गरेको थियो, जसअन्तर्गत अतिथिहरूले नेपाली चियाका विभिन्न स्वादहरूको अनुभव लिएका थिए।

चिनियाँ राजदूतावासका प्रतिनिधिहरूले नेपाल–चीनबिचको सहकार्यलाई अझ मजबुत बनाउँदै नेपालको चिया उद्योगको विकासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।