bima

जेनजी आन्दोलनमा २० अर्ब ७० करोड बढीको दाबी

कर्पोरेट Top-Headline अर्थ उद्योग पर्यटन मुख्य सामाचार

गत २३ र २४ भदौमा देशभर भएको जेनजी आन्दोलनबाट मुलुकलाई सामाजिक–राजनीतिक मात्र नभई आर्थिक दृष्टिले पनि गम्भीर असर पारेको छ । आन्दोलनका क्रममा भौतिक संरचना, व्यावसायिक प्रतिष्ठान र सवारीसाधनमा पुगेको क्षतिपछि हालसम्म २० अर्ब ७० करोड ३८ लाख रुपैयाँभन्दा बढीको बिमा दाबी दर्ता भएको नेपाल बिमा प्राधिकरणले जनाएको छ ।

नेपाल बिमा प्राधिकरणको तथ्यांकअनुसार हालसम्म १८ वटा निर्जीवन बिमा कम्पनीमा जम्मा १ हजार ९ सय ८४ वटा बिमा दाबी दर्ता भएका छन् । सबैभन्दा ठूलो क्षतिपूर्ति दाबी ओरिएन्टल इन्स्योरेन्स कम्पनीमा ५ अर्ब १४ करोड ७९ लाख रुपैयाँबराबरमा पुगेको छ । त्यसपछि सिद्धार्थ प्रिमियरमा ४ अर्ब ९३ करोड २२ लाख, शिखर इन्स्योरेन्समा २ अर्ब ३९ करोड र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्समा १ अर्ब ५९ करोड ६ लाख रुपैयाँबराबरको दाबी परेको प्राधिकरणले जनाएको छ ।

त्यसैगरी, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा १ अर्ब ४७ करोड, हिमालयन एभरेस्टमा १ अर्ब १५ करोड, निको इन्स्योरेन्समा १ अर्ब ९ करोड र सानिमा जीआईसी इन्स्योरेन्समा ७८ करोड ९३ लाख रुपैयाँबराबरको दाबी दर्ता भएको छ ।

माइक्रो इन्स्योरेन्स कम्पनीमा समेत असर
ठूला बिमा कम्पनीहरूसँगै साना–माइक्रो इन्स्योरेन्स कम्पनीमा पनि आन्दोलनको असर परेको छ । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्समा करिब १ करोड १३ लाख २२ हजार, स्टार माइक्रोमा ६७ लाख ७ हजार, नेपाल माइक्रोमा ५६ लाख ३६ हजार र ट्रस्ट माइक्रो इन्स्योरेन्समा करिब ४२ लाख रुपैयाँबराबरको क्षति दाबी दर्ता भएको छ ।

नेपाल निर्जीवन बिमा व्यवसायी संघले आन्दोलनका क्रममा भएको क्षतिको दाबी प्रक्रियालाई छिटो निष्कर्षमा पु-याउने प्रतिबद्धता जनाएको छ । संघका अध्यक्ष राजेन्द्र मल्लका अनुसार बिमा कम्पनीहरूले सामाजिक उत्तरदायित्व पूरा गर्दै बीमितलाई राहत दिने उद्देश्यले प्रक्रिया तीव्र पारिरहेका छन् ।

‘बीमितले आफ्नो क्षतिको विवरणसहित आवश्यक कागजात छिटो बुझाएमा दाबी भुक्तानी सहज र छिटो हुनेछ,’ अध्यक्ष मल्लले भने ।

प्राधिकरणको निर्देशन
नेपाल बिमा प्राधिकरणले पनि हालका अवस्थालाई गम्भीर रूपमा लिएको छ । प्राधिकरणका अनुसार २०८२ भदौ ३१ गतेसम्म दर्ता भएका दाबी संकलन गर्दा २० अर्ब ७० करोड रुपैयाँभन्दा बढीको दाबी दर्ता भएको पुष्टि भएको छ । प्राधिकरणले बिमा कम्पनीलाई पारदर्शिता र छिटो निर्णयका लागि निर्देशन दिने तयारी गरेको जनाएको छ ।

आन्दोलनपछिका घटनाले बिमाको महत्व अझै प्रस्ट भएको विज्ञहरूको भनाइ छ । आकस्मिक घटना, सामाजिक अशान्ति वा प्राकृतिक प्रकोपका बेला बिमाले मात्र क्षतिको बोझ कम गर्न सक्छ । यसपटकको आन्दोलनले बिमा नगरेका वा पर्याप्त बिमा नगरेका सम्पत्ति मालिकलाई गहिरो सन्देश दिएको छ । विश्लेषकहरूको भनाइमा, बिमा कम्पनीहरूको लागि अहिलेको सबैभन्दा ठूलो चुनौती भनेको यति ठूलो परिमाणको दाबीलाई छिटो निष्कर्षमा पु¥याउनु हो ।

यदि दाबी प्रक्रियामा ढिलाइ भयो भने बीमितको असन्तोष बढ्नेछ, जसले बिमाप्रतिको विश्वास घटाउने जोखिम छ । तर समयमै भुक्तानी भए भने बिमा बजार थप विस्तार हुने र उपभोक्ताको विश्वास बलियो हुने देखिन्छ ।

दीर्घकालीन प्रभाव
बिमा क्षेत्रका लागि यो घटनाले केही महत्वपूर्ण संकेतहरू दिएको छ । बिमा दायरा अझ विस्तार हुने सम्भावना रहेको छ । कम्पनीबीच प्रतिस्पर्धा बढ्ने, नियमनकारी निकायबाट निगरानी र निर्देशन थप कडाइ हुने देखिएको छ । यदि बिमा कम्पनीहरूले यो संकटलाई अवसरमा बदल्दै दाबी प्रक्रियालाई छिटो र सहज बनाए भने बिमाप्रतिको जनविश्वास बढ्नेछ र बिमा बजार अझै सुदृढ हुने निश्चित छ ।