newskarkahna news

ताइवान चीनकै अभिन्न अंग : प्रधानमन्त्री दाहाल ‘प्रचण्ड’

प्रदेश राजनीति वाग्मती समाचार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ताइवान चीनकै अभिन्न अंग भएको बताएका छन् । ताइवानको राष्ट्रपति निर्वाचनमा अमेरिकानिकट र चीनविरोधी भनेर चिनिएका विलियम लाई विजयी भएको एक दिन नबित्दै प्रधानमन्त्री प्रचण्डले ताइवान स्वतन्त्रताको विपक्षमा रहेको धारणा व्यक्त गरेका हुन् ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले आइतबार राजधानी काठमाडौंमा चिनियाँ नयाँ वर्षको उद्घाटन गर्दै शान्तिपूर्ण सहअस्तित्व र पञ्चशीलका सिद्धान्तका आधारमा नेपाल र चीनको सम्बन्ध प्रगाढ रहेकोे बताए ।

नेपाल ‘ताइवान स्वतन्त्रता’को विपक्षमा

आफ्नो चीन भ्रमणका बेला जारी भएको संयुक्त वक्तव्य स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘ताइवान चीनकै अभिन्न अंग हो, ताइवान स्वतन्त्रताका सम्बन्धमा नेपालको प्रस्ट दृष्टिकोण रहेको छ, मेरो चीन भ्रमणका क्रममा जारी संयुक्त वक्तव्यमा यसलाई प्रस्ट पारिएको छ, हामी फेरि भन्न चाहन्छौं हामी ताइवान स्वतन्त्रताको विपक्षमा छौं ।’

ताइवानको राष्ट्रपति निर्वाचनमा अमेरिकानिकट र चीनविरोधी भनेर चिनिएका विलियम लाई शनिबार विजयी भएका छन् । वर्तमान उपराष्ट्रपति तथा सत्तारूढ ‘डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी’ (डीपीपी)का उम्मेदवार ‘लाई’ राष्ट्रपति पदमा विजयी भएका हुन् ।

उनका निकटतम् प्रतिस्पर्धी विपक्षी दल ‘कुमिन्टाङ’ (केएमटी)का होउ यु–इहले पराजय स्वीकार गरेका छन् । ताइपेईका मेयर होउ यु–इह चीनसँग घनिष्ठ सम्बन्धको पक्षमा छन् । लाईको जितपछि आयोजित ¥यालीमा बोल्दै ताइवानकी वर्तमान राष्ट्रपति साई इङ–वेनलेले ताइवानमा लोकतन्त्रको जित भएको टिप्पणी गरेकी छन् ।

ताइवानको स्वतन्त्रता र लोकतन्त्रका लागि कुनै पनि चुनौती र दबाबले प्रभाव नपारेको भन्दै उनले मतदाताहरूलाई धन्यबाद दिए । यस्तै, राष्ट्रपतिमा निर्वाचित भएपछि सञ्चारमाध्यमसँग कुरा गर्दै विलियम लाईले चीनसँगको सम्बन्धमा अत्यन्तै सतर्क रहने बताएका छन् । उनले चीनसँग आपसी सम्मानका आधारमा संवाद र सहयोग रहने बताए ।

उनले चार महिनापछि २० मेमा ताइवानको राष्ट्रपतिको शपथ लिनेछन् । शनिबार भएको राष्ट्रपति र संसदीय निर्वाचनमा झन्डै १ करोड ९० लाख जनताले मतदान गरेका छन् । १ सय १३ सदस्यीय विधायिकाको पनि मतगणना चलिरहेको छ ।

ताइवानलाई चीनले आफ्नै मुलुकको हिस्सा दाबी गर्नु र ताइवनासँगको सम्बन्धकै कारण चीन र अमेरिकाबीच टकराव रहेकाले यस निर्वाचनलाई विश्वले चासोका साथ हेरेको छ । सोहीबीच प्रधानमन्त्री प्रचण्डले ताइवान चीनकै अभिन्न अंग भएको बताएपछि नेपालमा पनि चर्चाको विषय बनेको छ ।

b9cc3f1f eec2 4e45 95c8 ca69b1efe947

प्रधानमन्त्री प्रचण्डले नेपाल र चीननजिकका छिमेकी र विश्वासिला मित्र भएको बताउँदै भने, ‘हामीले असल मित्रका रूपमा एकअर्काको संवेदशनीलतालाई नजिकबाट बुझेका छौं, शान्तिपूर्ण सहअस्तित्व र पञ्चशीलका सिद्धान्तका आधारमा हाम्रो सम्बन्ध रहिआएको छ ।’

नेपाल एक चीन सिद्धान्तप्रति दृढ रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले भने, ‘यस सम्बन्धमा हाम्रो प्रतिबद्धता स्पष्ट र दृढ छ, आन्तरिक तथा बाह्य मामिलामा आएको परिवर्तनबाट हाम्रो प्रतिबद्धता कुनै हालतमा प्रभावित हुँदैन ।’

चीनका विरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने स्पष्ट पार्दै उनले दुई मुलुकको सभ्यता नदी र हिमशृंखलाले मात्र नजोडिएको यसमा साझा संस्कृति र जनस्तरको सम्बन्ध पनि प्रमुख रहेका बताए । प्रधानमन्त्री प्रचण्डले सांस्कृतिक सम्बन्धको गतिलो उदाहरणका रूपमा चन्द्रमासमा आधारित पात्रो रहेको उल्लेख गरे ।

आफूले हालै गरेको चीनको औपचारिक भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भएको भेटवार्ताका क्रममा आफूहरूबीचमा नेपाल र चीन सम्बन्धका विविध आयाममा गहिरो छलफल भएको स्मरण गरेका छन् ।

ac239fed 2ef1 4eb9 bbbb b963b1cfe0d9