thapa

तित्याङका वडाध्यक्ष थापाले सागसब्जी, सुन्तला र फलफूल खेती सगै अब थाले किबीखेती

किसान कृषि विशेष गण्डकी समाचार

बागलुङ नगरपालिका–९ तित्याङका वडाध्यक्ष राजु थापा व्यावसायिक रूपमा फलफूलखेती थालेका छन् । जिल्ला सदरमुकाम बागलुङ बजारसँग जोडिएको तित्याङमा सागसब्जी र सुन्तलाखेती गरेर सफल किसानको परिचय बनाएका उनले अहिले किबीखेती थालेका हुन् ।
तीन वर्षअघि किबीखेती थालेका उनलाई उत्पादन बेच्न भ्याइनभ्याइ छ । गाउँका अन्य किसानका लागि प्रेरणा बनेका थापाले यो वर्ष सय बोटबाट छ सय क्विन्टल किबी उत्पादन भएको बताए । उनले किबीसँगै कागती खेती पनि गरिरहको छन् । जनप्रतिनिधि भइसकेपछि कोदो र धानखेतीमा लाग्न आफूले समय व्यवस्थापन गर्न नसकेकाले बारीमा एक सय ५० कागती र ५० सुन्तलाका बोट लगाएको उनले बताए ।

दैलेखबाट रु तीन सय ३० मा एउटा बिरुवा खरिद गरेर ल्याएको जानकारी दिँदै वडाध्यक्ष थापाले बृहत् रूपमा किबीखेती गर्ने चाहना भएको सुनाए । किबीका लागि अस्थायी थाक्रो व्यवस्थापन गरेका थापाले किबी बजार पठाएपछि फलामबाट बनाइएको थाक्रो राख्ने योजना बनाईरहेका छन् । हाल स्थानीय बजारमा प्रतिकेजी रु दुई सय ५० देखि रु तीन सयमा किबी बिक्री हुँदै आएको छ । किबी बेचेर आफूले हालसम्म रु दुई लाख आर्जन गरेको उनको दावी छ ।

गत वर्ष प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन गर्ने सिलसिलामा तित्याङको खानीगाउँमा दुई हजार छ सय ओखर एक सय ४० रोपनी जग्गामा लगाइएको थियोभने यो वर्ष नगरपालिकाले किम्बोट क्षेत्रमा ओखर लगाउन रु १२ लाख बजेट विनियोजन गरेको वडाध्यक्ष थापाले बताए । अलैँची पकेट क्षेत्र विस्तारका लागि रु १५ लाख बजेट विनियोजन भएको छ । साथै वडा नम्बर ९ तित्याङको साबिक १, २, ३, ४ र ५ वडामा अलैँचीखेती प्रारम्भ भएको छ ।