जीवनको शास्वत सत्य मृत्यु नै हो । त्यसैले मृत्युलाई कुनै न कुनै समयमा सहर्ष स्वीकार गर्नु नै पर्दछ । जीवनको स्वभाविक लक्ष्य मृत्यु मै गएर अन्त्य हुन्छ । मृत्युको सत्यलाई मानव जीवनले चाहेर होस् वा न चाहरेर आँगाल्दै आइरहेको छ । तर मानिसको मृत्यु भन्दा पनि उसले जीवनभर गरेको कर्मको आधारमा मृत्युको स्वभाविकतालाई मुल्यांकन गरेर हेरिन्छ । जीवनका समयहरुलाई कति सार्थक र कति विशिष्ठता पूर्ण कर्महरुद्वारा सिञ्चित गर्न सकिएको छ । यस्तै विशिष्ठ व्यक्तित्व थिए संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख सुवास नेम्वाङ, जसको जीवन देश र जनताको सेवामा क्रियाशील रहँदै सार्थक रुपमा बित्यो । उनको निधनले आज सम्पूर्ण देश शोकमग्न बन्न पुगेको छ । बिहीबार उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । ह्दयघातका कारण गत मंगलबार निधन भएका नेम्वाङको बिहीबार राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । सो क्रममा नेम्वाङका दुई छोरा उहाँलाई दागबत्ति दिएका थिए । त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन लगायतले नेम्वाङप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गरे । नेम्वाङ प्रतिनिधि सभा सदस्य एवं नेकपा एमालेका उपाध्यक्ष समेत रहेका थिए । इलाम क्षेत्र नं २ बाट निर्वाचित नेम्वाङ २००९ फागुन २८ गते इलाममा जन्मिएका थिए । उनी इलाम २ बाट २०५६ सालदेखि संसदीय चुनावमा निरन्तर विजयी हुँदै आएका छन् । २०४८ सालदेखि २०५२ सालसम्म उनी राष्ट्रिय सभाका सांसद बनेका थिए । २०६३ सालमा पहिलोपटक सभामुख बनेका नेम्वाङ अन्तरिम संसदमा समेत सभामुख बनेका थिए ।

नेपालमा पहिलो पटक गठन भएको एतिहासिक संविधानसभाका नेतृत्वकर्ता थिए । पहिलो र दोस्रो ऐतिहासिक संविधान सभाका अध्यक्ष र सभामुख बनेका नेम्वाङकै कार्यकालमा २०७२ असोज ३ गते संविधान जारी भएको थियो । संविधानसभाको गठन र संविधान निर्माणमा उनको महत्वपूर्ण योगदान रहेको छ । ०५१ सालमा न्याय, कानुन तथा संसदीय मन्त्री बनेका नेम्वाङ २०५६ सालमा लेखा समिति सभापति बनेका थिए । उनकै कार्यकालबाट संसदीय समितिमा पत्रकारलाई प्रवेश दिन सुरू भएको हो । स्नातक अध्ययनका क्रममा २०२८ र २०२९ सालमा अनेरास्ववियुबाट इलाम बहुमुखी क्याम्पसको स्ववियु सभापति बनेका नेम्वाङ २०२८ सालदेखि राजनीतिमा निरन्तर सक्रिय थिए । २०३३ सालमा राजकाज मुद्दामा केन्द्रीय कारागारमा थुनामा रहँदा कम्युनिष्ट पार्टी कोओर्डिनेशन केन्द्र मालेमा संगठित भएका नेम्वाङ एमालेको केन्द्रीय न्यायिक समिति सदस्य हुँदै २०७८ मा एमालेको उपाध्यक्ष बनेका थिए । पञ्चायती निरङ्कुशताविरूद्धको राजनीतिक आन्दोलनका क्रममा पटक–पटक सार्वजनिक सुरक्षा अन्तर्गत नजरबन्दमा परेका नेम्वाङ प्रधानमन्त्री तुलसी गिरीको पालामा चलाइएको राजकाज मुद्दामा ७ महिना जेल समेत परेका थिए । वरिष्ठ अधिवक्ता समेत रहेका नेम्वाङले केही समय नेपाल ल क्याम्पसमा पढाएका थिए । प्रध्यापन, कानुन व्यवसाय र राजनीतिलाई एकसाथ अघि बढाएका नेम्वाङ नेपाल बार एसोसिएसनको पूर्व महासचिव समेत रहेका थिए ।

नेपाली राजनीतिका एक अनुभवी र जिम्मेवार व्यक्तिका रुपमा चिनिएका सुवास नेम्वाङले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि प्रस्तुत गरेका छन् । कानूनी पृष्ठभूमि रहेका नेम्वाङले संविधानसभासहित छ पटक व्यवस्थापिका–ससदको नेतृत्व सम्हाले । उनले मुलुकमा राजनीतिक प्रणाली परिवर्तन भई चर्को सङ्क्रमणकालका समयमा समेत सबै राजनीतिक शक्तिलाई सम्वादमार्फत् नै समस्या समाधानका लागि निरन्तर प्रेरणा दिंदै आएका थिए । जीवनको अन्तिम क्षणसम्म सङ्घीय ससदमा सत्तापक्ष र प्रतिपक्षका कारण उत्पन्न परिस्थितिमा राजनीतिक र कानूनी पाटोबाट आउने समस्या समाधान गर्न मुख्य सूत्रधारको भूमिका निर्वाह गर्दै आएका थिए । नेपालको संविधान बनाउने काममा संविधानसभाको अध्यक्ष भएर राम्रो भूमिका निर्वाह गरेपछि उनको छवि अन्तर्राष्ट्रिय बन्न पुगेको विश्लेषण धेरै राजनीतिज्ञहरुले गरेका छन् । संविधान निर्माण जस्तो ऐतिहासिक जिम्मेवारी पूरा गरेका कारण पनि उनलाई नेपाली जनताले कहिल्यै पनि विर्सने छैनन् । नेपालको सबै जाति, भाषा, धर्म, सस्कृति र भौगोलिक विविधतामा एकता खोज्ने नेताका रुपमा पनि उनलाई मानिन्छ । सबैको विविध पहिचानलाई सम्मान गर्दै बहुपहिचानको अविचलित हिमायतीका रुपमा आफूलाई उभ्याउन सफल सझा नेता पनि हुन् उनी । सभामुख भएर उनले गरेको काम र सदन सञ्चालनमा सबै दललाई गर्ने समन्वयात्मक भूमिकाका अनुकरणीय र अनुशरणीय रहेको छ ।

सुवास नेम्वाङ सरल स्वभावका मृदुभाषी नेता थिए । वैचारिक आलोचना गर्दा पनि सरल शब्दमा विषयगत र आदरार्थी शब्दको प्रयोग गर्ने विशेषता उनको थियो । आफूलाई मनमा लागेका कुराभन्दा पनि अरुलाई नबिझाउने शब्द चयन गर्ने कला प्रशंसनीय थियो । हाँसेर बोल्ने, कहिल्यै नरिसाउने सरल स्वभावका धनी उनलाई सवैले मनपराउँथे । कम्युनिष्ट आन्दोलनको विकास तथा समाजवादी आन्दोलनमा ठूलो योगदान पु¥याएका नेम्वाङ नेपाली राजनीतिका एक असल र सादगी नेता हुन् । देशलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीता, समाजवाद उन्मुख गराउने वर्तमान संविधान निर्माणमा अहम् भूमिका निर्वाह गर्ने उनी यस संविधान जनताले–जनताका लागि बनाएको संविधानको रुपमा व्याख्या गर्ने व्याख्याता हुन । तत्कालीन प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गर्ने कदम नउठान उनले सल्लाह दिएका थिए । यो विषयमा पार्टीबीचमा उनको केही आलोचना पनि भएको थियो । तर उनी आफ्नो अडानमा अडिग देखिएका थिए । राजनीतिक नेता र संवैधानिक ज्ञाता मात्र होइन, एक बहुआयामिक व्यक्तिका रुपमा देखिएका उनको निधनबाट नेपाली राजनीतिले अविस्मरणीय र अतुलनीय योगदान दिने व्यक्तित्व गुमाएको छ । श्रद्धेय सुवास नेम्वाङ राष्ट्रको नेता, असल मानिस भएर सार्थक जीवन बाँचेर राष्ट्र र जनताका लागि सकेजति राम्रा काम गरेर विदा भएका छन् । शालीन, सहज, मृदुभाषी र सादगी नेताका छवि बनाएका एक सफल व्यक्तित्व पनि हुन् नेम्वाङ । देश र जनताको शीर ठाडो पार्ने काम गरेर मृत्युलाई वरण गरेका सुवास नेम्वाङलाई आमनेपाली जनताले सदैव स्मरण गरिरहने छन् । तपाईको आत्म शान्तिका लागि भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0