बारा कोल्हवी नगरपालिका–७ ढोढरपाका दिपेन्द्र प्रसाद चौधरीले १ विघा जग्गामा चैते धान खेती गरी राम्रो उत्पादन गर्न सफल भएका छन् । बर्खे धानभन्दा चैते धानको उत्पादन बढेपछि उनी निकै उत्साही भएका हुन् ।
बाँकी खेतमा पनि अर्को वर्ष दीपेन्द्रले चैते धानको खेती गर्ने सोच बनाएका छन् । ‘चैत महिना अघि नै रोपेर असारको दोस्रो साता भित्र्याइने चैते धानको उत्पादन सोचेभन्दा बढी नै भएकाले अर्काे वर्ष जग्गा थप गरेर खेती गर्ने योजना छ’ उनी भन्छन्, ‘खेतमा धान काट्नका लागि पनि असजिलो छैन । गाउँका बासिन्दाले परालकै लागि सित्तैमा धान काटेर चुटिसमेत दिन्छन् । धान भित्रर्याउने काम मात्रै हामीले गर्छौँ भने अहिले धान काट्ने रिपर मेशिनले छिटो र कम लागतमा हुन्छ ।’
चैते धान खेतीबारे यसअघि त्यति धेरै जानकारी नभएको उनी बताउछन् । ‘नहरकोे पानी लाग्ने किसानले चैते धान खेती गरेको देखेर मैले पनि हर्दिनाथ जातको धान रोपेको हु’ दिपेन्द्र भन्छन्, ‘यत्तिको उत्पादन हुन्छ भनेर सोचेकै थिइएन । नसोचेको उत्पादन पाएपछि यस खेतीबाट निकै प्रभावित भएको छु ।’
सिँचाइका लागि उनले विद्युतीय मोटरको सहायताले खेतमा सिँचाइ गरी चैते धानखेती गरेका हुन् । खेत घरबाट अलि टाढा भएकाले एक विघामा आफैँले चैते धान रोपेका छन् भने बाँकी अरुलाई रोप्न दिएका छन् ।
साना किसान कृषि सहकारी संस्था डुमरवाना केन्द्र बाराको कोल्हवी सेवा केन्द्रबाट चैते धानको उन्नत जातको बीउ पाएपछि चैते धान रोप्न थालेको बनाए ।
ब्याचलर्ससम्म पढेका, गाउँकै मेहेनती किसानका रुपमा दिपेन्द्र परिचित छन् । सो जग्गामा अहिले वर्षे धान राप्ने तयारी गरिरहेका छन् । दुई बाली धान बाहेक मुसुरो, तोरी तथा गहुँ खेतीसमेत गर्दै आएका छन् । गाउँमा उनीजस्तै धेरै किसानले समेत चैते धानखेती गर्दै आएका छन् ।
त्यसो त जिल्ला कृषि ज्ञान केन्द्र बाराले किसानका लागि दुईवटा परियोजना सञ्चालन गरिरहेको जनाएको छ । ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत राम जीवन ठाकुरका अनुसार जिल्लामा दुई परियोजना ‘मूल्य सृङ्खलामा आधारित दुई बाली धान उत्पादन’ कार्यक्रम र ‘खाद्यान्न बाली धान तथा गहुँको बीउ उत्पादन’ कार्यक्रम सञ्चालित रहेको बताए । दुवै परियोजना ४–४ करोड रुपैयाँको रहेको र सोही रकम जिल्लाका कृषि तथा साना किसान सहकारीमार्फत किसानलाई अनुदान उपलब्ध गराइरहेको जानकारी दिए ।
मूल्य सृङखलामा आधारित दुई बाली धान उत्पादन कार्यक्रम परियोजना अन्तर्गत बीउबिजन, यान्त्रीकरण, सिँचाई, रोग किराको निराकरणदेखि प्रविधि प्रसारलगायतका कार्यक्रमहरु कृषि सहकारीमार्फत सञ्चालन छ । यस परियोजनामा ४ करोड बजेट छुट्याइएकोमा चैते र वर्षे धानका लागि अनुदान उपलब्ध गराइएको ठाकुरले बताए ।
दिपेन्द्रले पनि वर्षे सिजनमा बास्मती र सावित्री जातको धान रोप्ने तयारीमा छन् । उनले धानको बीउ पनि तैयारी गरिसकेका छन् ।
किसानले चैते धानखेती पछि वर्षे धानखेती गरी दोहरो फाइदा लिँदै आएको कृषि अधिकृत ठाकुरले बताए । यसवर्ष चैते धान खेती गर्ने किसानलाई अनुदानमा बीउ र मल उपलव्ध गराइँदा किसानको आकर्षण बढेको उनले बताए ।
‘चैते धानमा वर्षे धानको तुलनामा रोगका कीरा कम लाग्ने, मसिनो दाना हुने र धेरै फल्ने भएकाले किसानले यस धानको खेतीलाई रुचाएका छन्’ अधिकृत ठाकुरले भने, ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको वृहत्तर धान उत्पादन कार्यक्रमअन्तर्गत किसानलाई अनुदानका कार्यक्रममा समेट्न थालिएको छ । मल, बीउबिजन, कृषि औजार र उपकरणसमेत किसानलाई दिइने गरिएकाले किसानले वर्षे धान खेतीप्रति रुचि देखाउन थालेका छन् ।’
उमेरले ५० नाघेका दिपेन्द्रले कृषिकर्मबाट कमाएको आन्दानीले नै छोराछोरी पढाइरहेका छन् । खेतीपातीको आम्दानीले छोरीलाई स्टाफ नर्स पढाए । छोरा अहिले सिटिइभिटीमा पढिरहेका छन् ।
खेती गरेरै सबै खर्च कटाएर वर्षमा ३–४ लाखसम्म बचत गर्छन् । अब माछा पाल्ने सोचमा पनि छन् दिपेन्द्र । ज्ञान केन्द्रबाटे उनले सेवा लिन थालको तीन वर्ष भएको बताए ।
दिपेन्द्र भन्छन् ‘ज्ञान केन्द्रले उपलब्ध गराएको अनुदान एकदमै राम्रो छ । किसानलाई फाइदा पनि छ । मैले ठूलो अनुदान त लिएको छैन तर उन्नत जातको बीउ, औषधी हो अरु साथीले भने लिएका छन् ।’
राज्यले दिने अनुदान समयमै नपाएको उनको गुनासो छ । किसानले पाउनुपर्ने मल, बीउ, विषादी, औषधी समयमै नपाउने समस्या समाधान गर्न आग्रह गरेका छन् ।
ज्ञानकेन्द्रका अधिकृत ठाकुरका अनुसार उन्नत जातको बीउले किसानहरुको उत्पादन र आयमा वृद्धि भएको छ जसले गर्दा श्रम अनुसारका प्रतिफल पाएका छन् । ज्ञानकेन्द्रले सिँचाइमा ८५ प्रतिशत र यान्त्रीकरण र बीउ बिजनलगायतमा ५० प्रतिशत अनुदान दिने गरेकोे बताए । तथापी स्थानीय कृषि तथा साना किसान सहकारीमार्फत अनुदान उपलब्ध गराउने गरेको र यदाकदा समयमा नपुगेको गुनासोलाई सकेसम्म सम्बोधन गरेर अघि बढ्ने प्रतिवद्धता जनाए । -halo
