मुस्ताङको घरपझोङ गाउँपालिकाले स्याउ खेतीलाई विशेष प्राथमिकता दिएको छ। पालिकालाई स्याउ हबको रूपमा पहिचान स्थापित गर्न पालिका जुटेको हो। स्याउ खेतीका माध्यमबाट स्थानीय कृषकलाई प्रोत्साहित गर्ने र स्याउ खेतीको प्रचारप्रसारमा जोड दिँदै मुस्ताङको पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउन स्याउलाई पर्यटनसँग जोड्न गाउँपालिका अग्रसर देखिएको हो।
मुस्ताङका पाँचवटै स्थानीय तहमा स्याउ खेती गरिएको छ। जिल्लामा कुल १ हजार ४ सय १५ हेक्टर क्षेत्रफलमा स्याउ खेती विस्तार भएको छ। जसमध्ये ५ सय ८५ हेक्टर क्षेत्रफलमा लगाइएको स्याउले उत्पादन दिने गरेको छ। मुस्ताङका पाँच स्थानीय तहमा स्याउ खेती गरिएको भए पनि सबैभन्दा बढी स्याउ उत्पादन हुने स्थानीय तह हो घरपझोङ गाउँपालिका। ‘क्या राम्रो स्याउ बारी मार्फा गावैं’ मा बोल गीत मार्फा गाउँलाई ब्रान्ड स्थापित गरायो। यही स्याउ हबले परिचित गाउँ पनि घरपझोङ गाउँपालिकाभित्रै पर्छ।
घरपझोङ गाउँपालिकाको मार्फा गाउँसँगै, स्याङ, छैरो, चिमाङ, स्याङ, जोमसोम, ठिनी, सम्ले र ढुम्बालगायतका गाउँहरूको बग्रेल्ती माात्रामा स्याउ उत्पादन हुन्छ। त्यसो त मुस्ताङको घरपझोङ गाउँपालिका स्याउ खेतीसँगै पर्यटनमा समेत निकै अगाडि छ। गाउँपालिकाले संकलन गर्ने मुख्य आम्दानीको स्रोतमा यहाँको स्याउ खेती र पर्यटन व्यवसायीबाट उठाइने आन्तरिक राजस्व नै हो।
यही स्याउ खेतीको थप बृहत्तर विकासका साथै पर्यटन व्यवसायलाई माथि उठान घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचन निकै अग्रसर देखिएका छन्। गाउँपालिकाले प्रशासकीय भवनको अगाडि स्याउ आकृतिको करिब १२ फिट स्वागत गेट निर्माण गरिएको छ। गाउँपालिकाले गत आवको विनियोजित ९ लाख रुपैयाँ लागतबाट उक्त स्वागत गेट निर्माण गरेको प्रमुख प्रशासकीय अधिकृत वेदहरि अधिकारीले जानकारी दिए। मुस्ताङ भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकका साथै पालिका अवलोकन गर्ने अतिथिलाई स्याउको राजधानी अवस्थित रहेको पालिका भनी परिचित गराउन स्याउ आकृतिको स्वागत गेट निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले उल्लेख गरे। ‘मुस्ताङको घरपझोङ स्याउको राजधानी हो, यही ब्रान्डलाई पर्यटकसामु चिनाउन खोजिएको हो, ’ प्रमुख प्रशासकीय अधिकृत अधिकारीले भने, ‘यसले पालिकाभित्रका कृषकहरूले गर्व गर्न सकुन् र पर्यटन विकासमा समेत योगदान पुगोस् भन्ने नै हो।’ घरपझोङले स्याउ खेतीलाई प्रवद्र्धन गर्न स्याउलाई पालिकाको लोगोमा समेत समेटिएको उनले सुनाए।
त्यसो त मुस्ताङको स्याउलाई ब्रान्ड स्थापित गर्दै यहाँको पर्यटन विकासमा सघाउ पुर्याउन पालिकाभित्रका विभिन्न पर्यटकीय गन्तव्य तथा गाउँहरूमा जाने गन्तव्य पहिल्याउन स्याउकै आकृतिमा साइन पोस्टिङसमेत गरिएको छ। पालिका अध्यक्ष लालचनको निजी खर्चमा घरपझोङ गाउँपालिकाका पाँचवटै वडामा स्याउ आकृतिको साइन पोस्टिङ गर्ने अभियान सुरु भएको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले जानकारी दिए।
अध्यक्ष लालचनले स्याउ खेती र पर्यटन विकासले पालिकालाई समृद्धि पालिका बनाउन सकिन्छ भनेर स्याउको पहिचान स्थापित गर्न जुटेको बताए। गाउँपालिकालाई स्याउसँग जोड्ने गरी पालिकाका ५ वडाका हरेक घरधुरीमा स्याउकै आकृतिमा घरका नम्बरहरू टाँस्ने कार्य भएको छ। यस स्याउको आकृति राखिएको साइन पोस्टिङले पर्यटकलाई आफूले चाहेको गन्तव्यमा पुग्न सहजता हुने अध्यक्ष लालचनको भनाइ छ।
मुस्ताङमा चालु आवमा ७ हजार ३ सय ३० टन स्याउ उत्पादन हुँदा ८३ करोड रुपैयाँको स्याउ जिल्ला बाहिर निकासी भएको थियो।
