see ko welcome

राष्ट्र प्रमुखहरूलाई चिनियाँ राष्ट्रपति सी चिनफिङद्धारा थियानजिनमा न्यानो स्वागत

बिश्व Top-Headline राजनीति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहितका राष्ट्र प्रमुखहरूलाई चिनियाँ राष्ट्रपति सी चिनफिङले थियानजिनमा न्यानो स्वागत गरेका छन् । सांघाई सहयोग संगठन (एससीओ) प्लसको शिखर सम्मेलनमा सहभागी हुन चीन पुगेका प्रधानमन्त्री ओलीसहितका राष्ट्रप्रमुखहरूलाई सीले सम्मेलनस्थलमा स्वागत गरेका हुन् ।

चीनको थियानजिन मेइजियान सम्मेलन केन्द्रमा आयोजित सांस्कृतिक प्रस्तुतिसहितको रात्रिभोजमा चीनका राष्ट्रपति सी चिनफिङ र उनकी धर्मपत्नी पेङ लियुआनले प्रधानमन्त्री ओली, प्रथम महिला राधिका शाक्यसहितको प्रतिनिधिमण्डलमा उच्च पदाधिकारी पनि थिए ।

राष्ट्रपति सीको मैत्रीपूर्ण निमन्त्रणामा प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली पाँचदिने भ्रमणमा छन् । भ्रमणको पहिलो दिन प्रधानमन्त्री ओली र राष्ट्रपति सीबीच द्विपक्षीय भेटवार्ता भइसकेको छ । सोमबार (आज) शिखर सम्मेलनमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।

मोदीसहितका राष्ट्रप्रमुखसँग ओलीको भेटघाट
चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच अनौपचारिक कुराकानी भएको छ ।

चिनियाँ राष्ट्रपतिसँग शनिबार भएको औपचारिक भेटवार्तामा चीन र भारतबीच नेपालको लिपुलेकलाई व्यापारिक मार्ग बनाउनेगरी भएको सहमतिमा प्रधानमन्त्री ओलीले आपत्ति जनाएका थिए ।

तर, आइतबार भएको छोटो अनौपचारिक र छोटो भेटमा भने यो विषय नउठेको परराष्ट्र मन्त्रालयका अधिकारीहरूले बताएका छन् । सम्मेलन केन्द्रमा आयोजित सांस्कृतिक प्रस्तुतिसहितको रात्रिभोजमा प्रधानमन्त्री ओलीसँग भएको अनौपचारिक भेटको तस्बिर मोदीले नै पहिला सार्वजनिक गरे । मोदीले सामाजिक सञ्जाल एक्समा थियानजिनमा नेपालका प्रधानमन्त्री ओलीलाई भेट्न पाउँदा खुसी लागेको बताउँदै नेपालसँग भारतको सम्बन्ध निकै गहिरो र विशेष भएको लेखेका छन् ।

यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओली र समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री फाम मिन चिङबीच चीनको थियानजिनमा दुईपक्षीय भेटवार्ता भएको छ । भेटका अवसरमा दुई देशबीचको सांस्कृतिक, कूटनीतिक र आर्थिक सम्बन्ध र सहकार्यका विविध पक्षमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री चिङले उपराष्ट्रपति भो थिआन सुआनको हालैको नेपाल भ्रमणको स्मरण गर्दै प्रधानमन्त्री ओलीलाई भियतनाम भ्रमणका लागि आमन्त्रण गरे । प्रधानमन्त्री ओलीले भियतनामको स्वतन्त्रताको लडाइँमा नेपालको ऐक्यबद्धता प्रकट गर्दै छोटो अवधिमा सो मुलुकले गरेको प्रगति सबैका लागि प्रेरक रहेको बताए ।

प्रधानमन्त्री ओलीले नेपाल आगामी वर्ष विकासशील मुलुकमा स्तरोन्नति हुने अवगत गराउँदै पर्याप्त प्रतिफल प्राप्त हुने ऊर्जा क्षेत्रमा लगानी गर्न आह्वान गर्दै चिङलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बिहान नानकाई जिल्लास्थित चाउ एनलाई र तेङ यिङ्चाओ स्मृति संग्रहालय र चिनियाँ धानखेतीस्थलको अवलोकन गरेका छन् ।

के हो एससीओ सम्मेलन ?
चीनको थियानजिन सहरमा सोमबार र मंगलबार सांघाई सहयोग संगठन (एससीओ) सम्मेलन आयोजना गरिएको छ । चीनले एससीओ सम्मेलन इतिहासकै सबभन्दा ठूलो सम्मेलन भएको दाबी गरेको छ ।

एससीओमा चीन, भारत, रुस, पाकिस्तान, काजकस्तान, किर्गिस्तान, ताजिकिस्तान, उज्वेकिस्तान, इरान र बेलारुस गरी १० देश सदस्य छन् । पालैपालो आयोजना हुने यस सम्मेलनमा क्षेत्रीय स्थिरता, आतंकवाद, सीमा सुरक्षा, आर्थिक तथा व्यापारिक सहयोग, क्षेत्रीय आर्थिक एकीकरणजस्ता विषयमा छलफल हुन्छ । सन् २०१८ पछि चीनले यो सम्मेलन आयोजना गरेको हो ।

एससीओको डायलग पार्टनर्स (संवाद साझेदार) राष्ट्रका रूपमा नेपालसहित अजरबैजान, अर्मेनिया, कम्बोडिया, मालदिभ्स, टर्की, इजिप्ट र म्यानमार सहभागी छन् ।

एससीओमा १४ डायलग पार्टनर्समध्ये नेपालसहित आठ देशका नेता उपस्थित छन् । यसपटक पर्यवेक्षकका रूपमा मंगोलिया सहभागी छ भने इन्डोनेसिया, लाओस, मलेसिया र भियतनाम अतिथि देशका रूपमा सहभागी छन् ।