got

वार्षिक ८ अर्ब ६६ करोडको पशु तथा पशुजन्य उत्पादन कैलालीबाट निकासी

अर्थ उद्योग कर्णाली समाचार सुदूरपश्चिम हाईजेनिक

कैलालीबाट वार्षिक ८ अर्ब ६६ करोडको पशु तथा पशुजन्य उत्पादन निकासी हुने गरेको पाइएको छ । यहाँबाट कर्णाली, गण्डकी प्रदेश र काठमाडौंमा राँगा–भैंसी, खसी र बोका निर्यात हुने गरेको पाइएको छ ।

वार्षिक करिब ५० हजार खसी–बाख्रा र २५ हजार रागाँ–भैंसी कैलालीबाट निकासी भएको सकारी तथ्यांकले देखाएको हो । जिल्लाबाट ३ अर्ब ४० करोडको दुध, १८ करोडको वटर र घ्यु तथा ८ करोडको छुर्पी समेत निर्यात भएको छ ।

उता, कोरोना महामारीपछि पशु तथा पशुजन्य उत्पादन बढेको छ । कोरोनापछि किसानमा पशुपालन गर्ने र त्यसबाट आम्दानी गर्ने बानीको विकास भएको छ । कैलालीको मोहन्याल तथा चुरे गाउँपालिका लगायत तराई क्षेत्रको ग्रामीण इलाकामा पशुपालन गर्नेहरूको संख्या बढेको छ ।

पशुपालनमा पनि बाख्रा पालन बढेकाले कैलाली र कञ्चनपुरका चुरे क्षेत्रसहित पहाडी क्षेत्रमा बिक्री योग्य खसी–बाख्राको संख्या बढेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनगढीका प्रमुख डाक्टर हेमराज अवस्थीले बताए ।

उनले कोरोनापछि ग्रामीण क्षेत्रमा पशुपालन गर्नेको संख्या बढेको बताए । ‘कोरानापछि पशुपालन गर्नेको संख्या बढेको पाइएको छ । ठुलो पशु फार्म नभए पनि संख्यात्मक हिसाबले हरेक परिवारले पशु चौपायाको संख्या बढाएका छन्,’ डाक्टर अवस्थीले भने ।

यसैगरी, कैलालीबाट चिसापानी हुँदै दैनिक चार ट्रक खसी–बोका निर्यात हुने गरेको सरकारी तथ्याङ्कले देखाएको छ । गत आर्थिक वर्षमा कैलाली हुँदै देशका अन्य प्रदेशमा ४९ हजार ७६४ खसी–बोका निर्यात भएको तथ्याङ्कले देखाएको हो । प्रति खसी–बोका १६ हजारका दरले ३ अर्ब ५० करोडको खसी–बोका निर्यात भएको छ। यस्तै, दैनिक ३ ट्रक राँगा–भैंसी निर्यात हुने गरेको छ ।