दिवस किसानलाई सम्मान 1
कृषि विशेष किसान सुदूरपश्चिम

धान दिवसका अवसरमा किसानका खेतमा रोपाईसँगै उत्कृष्ट किसानलाई पुरस्कारसहित सम्मान गरिएको छ । अमरगढी नगरपालिका–३ डोटीको साउनगाउँको खेतमा आइतबार २२औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाइएको छ ।

कृषि ज्ञान केन्द्र, अमरगढी नगरपालिका कृषि शाखा, जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, ग्रामिण उद्यम तथा आर्थिक विकास आयोजना डडेल्धुराको सहयोगमा हरियाली महिला कृषक समुहले आइतबार २२औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाएको कृषि ज्ञान केन्द्रका प्रमुख नरेन्द्र पनेरुले जानकारी दिए ।

उनका अनुसार सुदूरपश्चिम प्रदेश सरकारले प्रदान गर्दै आएको शहिद भिमदत्त पन्त उत्कृष्ठ किसान पुरस्कारबाट गन्यापधुरा गाउँपालिका २ का व्यवसायीक किसान रबिन्द्र माली, परशुराम नगरपालिका ११ का किसान मिलन घिमिरे र अजयमेरु गाउँपालिका २ का किसान चन्द्राकुमारी ओझालाई जनही २५ हजार रुपैया नगदसहित सम्मान पत्र र दोसल्ला ओढाई सम्मान गरिएको छ ।

दिवस किसानलाई सम्मानधान दिवसका अवसरमा भिमदत्त पन्त पुरस्कारले किसानलाई सम्मान गरिदै ।

“धान बालीमा सघनताः खाद्य सुरक्षा र आत्मनिर्भरता” भन्ने नारासहित २२औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव २०८२ कार्यक्रममा उत्कृष्ठ किसानहरु लाई प्रमुख अतिथी रहेका जिल्ला समन्वय समिति प्रमुख गगनसिंह भण्डारी अमरगढी नगरपालिकाका उपप्रमुख पार्वती झुकाल र प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले पुरस्कार हस्तान्तरण गर्दै सम्मान गरे ।

डडेल्धुरामा गहँु बाली पछिको दोस्रो प्रमुख बाली धान बाली रहेको छ । कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाका प्रमुख पिताम्बर बस्नेतले प्रश्तुत गरे तथ्यांकमा जिल्लाभरी ६ हजार १२० हेक्टर क्षेत्रफलमा धान खेती हुदै आएको अनुमान छ । यो क्षेत्रफल मध्ये २० प्रतिशत अर्थात एक हजार २२४ हेक्टरमा छरुवा घैया धान लगाईन्छ भने बाँकी ८० प्रतिशत अर्थात चार हजार ८९६ हेक्टर क्षेत्रफलमा धान रोपाई गरिने उनले बताए । उनका अनुसार हालसम्म ६० प्रतिशत अर्थात दुई हजार ९३८ हेक्टर क्षेत्रफलमा रोपाई भईसकेको छ ।

यस जिल्लामा गत वर्ष ६ हजार १२० हेक्टर क्षेत्रफलमा गरिएको धान खेतीबाट २० हजार ४२० मेट्रिकटन उत्पादन भएको थियो । गत वर्षको उत्पादकत्व ३.३४ मेट्रिकटन प्रति हेक्टर थियो । धान दिवसमा रोपाई गर्दै जनप्रतिनिधि, कर्मचारी र किसानहरुले सुदूरपश्चिमको मौलिक बाजा दाई दमाह, झ्याली बजाउदै मौलिक संस्कृती देउदा खेल खेल्दै रोपाईका भाका गाए । सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा ढोलसमेत बजाउदै सुदूरपश्चिमका देउडा भाका गाउदै रोपाई गर्ने चरन रहिआएको छ ।